हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मातहतका नौवटा प्रहरी कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेको छ।

बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले सातवटा इलाका प्रहरी कार्यालय, एउटा वडा प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।

सम्झौतापछि एसपी खत्रीले प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन्। उनले शान्तिसुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रणलाई प्रभावकारी बनाउने र नागरिकका गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन्।

प्रहरी कर्मचारीको जिम्मेवारी र जवाफदेहिता अभिवृद्धि गर्दै कार्यसम्पादनमा सुधार ल्याउनुपर्ने बताउँदै उनले सम्झौतालाई औपचारिकतामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्। कार्यसम्पादन सम्झौता गरिएका कार्यालयहरूमा इलाका प्रहरी कार्यालय मनहरी, पालुङ, भीमफेदी, मकवानपुरगढी, ठिङ्गन, फापरबारी र पशुपतिनगर रहेका छन्।त्यस्तै, वडा प्रहरी कार्यालय सानोपोखराका प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश बिष्टसँग पनि सम्झौता गरिएको छ। सम्झौतामार्फत प्रहरी कार्यालयहरूको जिम्मेवारी तथा कार्यसम्पादनका लक्ष्य स्पष्ट पार्दै प्रहरी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। निर्धारित लक्ष्यअनुसार काम भए–नभएको नियमित अनुगमन तथा मूल्याङ्कनसमेत गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here