Screenshot

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ। हिमपातका कारण नेपाल–चीन सीमास्थित कोरला नाका ठप्प भएको छ भने पहिरो खस्दा जोमसोम–कोरला सडकखण्डसमेत अवरुद्ध भएको छ।

शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको छ। कोरला नाका तथा आसपासका क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी)ले जनाएको छ।

हिमपातका कारण सडकमा आवागमन जोखिमपूर्ण बनेपछि कोरला नाकातर्फ जाने सवारीसाधन तथा पर्यटकको आवागमन रोकिएको छ। भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत आवतजावत नगर्न आग्रह गरिएको छ। मौसम सामान्य नभएसम्म नेपाल–चीन सीमा व्यापार तथा निकासी–पैठारी कारोबार सञ्चालन नगर्न प्रशासनले अनुरोध गरेको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी गुरुङका अनुसार कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको हो। हिमपातका कारण उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन तथा उच्च लेकका क्षेत्र हिउँले ढाकिएका छन्। चिसो अत्यधिक बढेपछि स्थानीयको दैनिकीसमेत प्रभावित भएको छ।

यता, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि तल्लो क्षेत्रमा शुक्रबार रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण घरपझोङ गाउँपालिका–४ जोमसोमदेखि माथिल्लो सडक र छुसाङ क्षेत्रमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here