
मकवानपुर । बंगालको खाडीमा विकसित अर्नब चक्रवातको प्रभावले मकवानपुरमा निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
निरन्तर वर्षाका कारण आज (शनिबार) साँझ ४ बजेसम्म कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह १ हजार ५२९ मिटर पुगेको प्रशासनले जनाएको छ। थप वर्षा भएमा जलाशयको सुरक्षा तथा जलसतह सन्तुलन कायम राख्न बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने सूचनामा उल्लेख छ।
बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा सिस्नेरी खोला तथा बागमती नदी किनारका तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले त्यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र सुरक्षित स्थानमा रहन प्रशासनले अनुरोध गरेको छ।
यसैगरी, बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै भीमफेदी–भैँसे–देउराली–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकखण्डमा आज शनिबार साँझ ५ बजेदेखि भोलि आइतबार बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा जारी सूचनामा उक्त अवधिमा सवारी सञ्चालन तथा यात्रा नगर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
प्रशासनले सम्भावित विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेको छ।
