
साउन,४-
अमेरिकी प्रविधि कम्पनी एप्पल फेरि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी बजार प्रवृत्तिबीच एप्पलले चिप निर्माता एनभिडियालाई उछिन्दै शीर्ष स्थान पुनः हासिल गरेको हो। एप्पलको बजार मूल्य ४.८८ ट्रिलियन अमेरिकी डलर पुगेको छ भने एनभिडियाको मूल्य ३.५ प्रतिशत घटेर ४.८६ ट्रिलियन डलरमा झरेको छ। यससँगै एक वर्षभन्दा बढी समयपछि एप्पल पुनः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो।
गत महिना एप्पलले आफ्नो एआई सहायक सिरीको नयाँ संस्करण सार्वजनिक गरेको थियो। नयाँ सिरीले प्रयोगकर्ताको व्यक्तिगत सन्दर्भ राम्रोसँग बुझ्ने, इन्टरनेटबाट वास्तविक समयको जानकारी प्राप्त गर्ने तथा जटिल कार्यहरू सम्पन्न गर्न सक्ने क्षमता राख्छ। विश्लेषकहरूका अनुसार एआई पूर्वाधारमा प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा कम खर्च गरे पनि एप्पलले आफ्ना अर्बौं प्रयोगकर्ताको व्यक्तिगत डेटा र सेवामार्फत त्यसको लाभ उठाउने रणनीति अपनाएको छ। यही कारण लगानीकर्ताको विश्वास एप्पलतर्फ बढ्दै गएको बताइएको छ। एप्पलले जुलाई ३० मा तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीले यसअघि बिक्रीमा १४ देखि १७ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेको थियो। यता, एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आगामी सेप्टेम्बरमा नेतृत्व जोन टर्नसलाई हस्तान्तरण गर्ने तयारी गरेका छन्।
उता, सेमिकन्डक्टर क्षेत्रमा प्रतिस्पर्धा बढ्दै जाँदा एनभिडियामाथि दबाब बढेको विश्लेषकहरूले बताएका छन्। माइक्रोन र दक्षिण कोरियाली एसके हाइनिक्सजस्ता कम्पनीहरू पनि तीव्र रूपमा अघि बढिरहेका छन्।
