
सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २९ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयसँगै प्रदेशसभाको चालु अधिवेशन अन्त्य हुने भएको छ। अधिवेशन अन्त्यका लागि आवश्यक संवैधानिक प्रक्रियाअनुसार प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ।
निर्णय सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारकी प्रवक्ता कल्याणी खड्काले आठौँ अधिवेशन भदौ २९ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिइन्।
