गण्डकी। लामो समयको प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। फ्लाइ दुबईको जहाज आगामी असोज ७ गते (सेप्टेम्बर २३) साँझ ६ः१५ बजे पोखरा विमानस्थलमा अवतरण गर्ने तालिका सार्वजनिक भएको छ।

पहिलो उडानलाई विशेष बनाउँदै विमानस्थलमा पानीको फोहोरा तथा अन्य कार्यक्रमसहित जहाज र यात्रुलाई स्वागत गर्ने तयारी गरिएको छ। पोखरा अवतरणपछि फ्लाइ दुबईको जहाजले साँझ ७ः१५ बजे यात्रु तथा कार्गो लिएर दुबईका लागि प्रस्थान गर्नेछ।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले एयरबस ३१९ र ३२० मार्फत पोखरा–दुबई उडान सञ्चालन गर्नेछ। एयरबस ३१९ मा करिब १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु अट्ने क्षमता रहेको छ। आवश्यकताअनुसार दुवै प्रकारका जहाज आलोपालो प्रयोग गरिने उनले जानकारी दिए।

फ्लाइ दुबईले हाल सार्वजनिक गरेको तालिकाअनुसार हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे दुबईका लागि उडान गर्नेछ। पहिलो दिन भने निर्धारित समयभन्दा केहीअघि नै जहाज अवतरण हुनसक्ने जनाइएको छ। विमानस्थलले नियमित उडानका लागि आवश्यक तयारी अघि बढाइसकेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई दुबई–पोखरा–दुबई उडानका लागि अनुमति दिएको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा फ्लाइ दुबईको प्रवेशलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीका अनुसार काठमाडौँबाट हुने उडानको तुलनामा पोखराबाट दुबई जाने टिकट करिब पाँच हजार रुपैयाँसम्म सस्तो पर्न सक्छ। उनका अनुसार कम्पनीले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ र पोखरा–दुबई सेवा प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई विभिन्न सुविधा उपलब्ध गराइनेछ।

यो उडान फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुनेछ। यसबाट पोखराबाट दुबई हुँदै अष्ट्रेलिया, युरोप, अमेरिका लगायतका विभिन्न गन्तव्यमा जाने यात्रुले एउटै टिकटमार्फत सहज यात्रा गर्न सक्ने अपेक्षा गरिएको छ।

पोखरा–दुबई उडानले अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग पोखराको प्रत्यक्ष सम्पर्क विस्तार गर्नुका साथै पर्यटन, व्यापार र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। गण्डकी प्रदेश तथा आसपासका नागरिकलाई वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि अरब मुलुकसहित अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्न पनि सहज हुने जनाइएको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेकोमा पर्यटन व्यवसायी उत्साहित रहेको बताए। उडानलाई दिगो बनाउन पोखरेली पर्यटन व्यवसायी एकताबद्ध भएर प्रवर्द्धनमा लाग्ने उनको भनाइ छ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडान सफल बनाउनु सबै सरोकारवाला पक्षको साझा दायित्व भएको बताए। पहिलोपटक सुरु हुन लागेको उडानलाई दिगो बनाउन सम्भावित चुनौतीलाई अवसरमा बदल्नुपर्ने उनले उल्लेख गरे। पोखरा महानगरपालिका र फ्लाइ दुबईबीच पर्यटन प्रवर्द्धन, गन्तव्यको बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत विषयमा सहकार्य गर्ने समझदारीसमेत भएको छ।

फ्लाइ दुबईले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरे पनि सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरिसकेको जनाएको छ। उडान सफल भए पोखरामा अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसमेत आकर्षित हुने अपेक्षा गरिएको छ।

यसअघि सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरेको थियो। तर यात्रु सङ्ख्या न्यून भएपछि उक्त सेवा हाल स्थगित छ। त्यसैले पोखरा–दुबई उडान विमानस्थलबाट सञ्चालन हुन लागेको दोस्रो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुनेछ। चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा भने यसअघि चार्टर उडान हुँदै आएका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। काठमाडौँ केन्द्रित हवाई चाप घटाउँदै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारका लागि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको आवाज उठ्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here