
मकवानपुरको मनहरी गाउँपालिका–९, भाबरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८३ भदौ २३ गते बिहान करिब २ः४५ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई ग २ च ६१५ नम्बरको पिकअपले स्कटिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारको सिटभित्र प्लास्टिकले बेरेर लुकाइछिपाई राखिएको १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजाको तौल गर्दा १६२ किलो ७९४ ग्राम रहेको खुलेको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा पिकअप चालकले गाडी भगाउन खोजेपछि प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछका क्रममा पिकअपले गाँजा बोकेको कारलाई स्कटिङ गरेको खुलेपछि दुवै चालकलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको
पक्राउ पर्नेमा चितवन, माडी नगरपालिका–५ धोबाहा निवासी ५६ वर्षीय देव नारायण महतो कार चालक र भरतपुर महानगरपालिका–२४ निवासी ४८ वर्षीय टेकबहादुर दोङ पिकअप चालक रहेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
