टाउकोमा खैरो (ब्लोन्ड) रौँ भएका कारण ‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको एउटा राँगो बंगलादेश सरकारको अन्तिम समयको निर्देशनपछि बकरइदको बलि हुनबाट जोगिएको छ। करिब ७०० केजी तौल भएको यो दुर्लभ ‘अल्बिनो’ राँगोलाई बलिको धार्मिक अनुष्ठानका लागि एक क्रेतालाई बिक्री गरिसकिएको थियो। तर बंगलादेश सरकारले सो राँगोलाई चिडियाखाना पठाएको छ । बिहीबार मनाइने बकरइद पर्वको पूर्वसन्ध्यामा यो राँगोलाई हेर्न सर्वसाधारणको अत्यधिक भिड बढेपछि र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बंगलादेशको गृह मन्त्रालयले बुधबार यस विषयमा हस्तक्षेप गरेको हो। मन्त्रालयका अधिकारीका अनुसार राँगोप्रति जनताको अस्वाभाविक चासो र भीडका कारण सुरक्षाको विषयलाई लिएर अन्तिम समयमा यसलाई बलि नदिने निर्णय गरिएको हो।

गृहमन्त्री सलाहुद्दिन अहमदको निर्देशनपछि राँगो किन्ने ग्राहकलाई पैसा फिर्ता दिइएको छ र ढाकास्थित राष्ट्रिय चिडियाखानामा स्थानान्तरण गरिएको छ। यस राँगोको खैरो कपाल र शान्त स्वभावका भिडियोहरू सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । जसलाई हेर्न टाढा-टाढाबाट मानिसहरू फार्ममा आउने गरेका थिए । फार्मका सञ्चालक जियाउद्दिन मृधाका अनुसार उनका भाइले यसको स्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेको देखेर यसको नाम ‘डोनाल्ड ट्रम्प’ राखिदिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here