
संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूले सुनसरी घटनालाई शान्तिपूर्ण संवाद र सहमतिमार्फत समाधान गर्न अपिल गरेका छन्। रास्वपाका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमा लोकतान्त्रिक व्यवस्थामा उत्पन्न हुने जुनसुकै असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवादबाट मात्रै सम्भव हुने उल्लेख गरिएको छ।
बैठकले सबै पक्षलाई संयमता अपनाउँदै आफ्ना मागहरू शान्तिपूर्ण रूपमा राख्न आग्रह गरेको छ। साथै पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। वक्तव्यमा नेपालको विविधताबीच कायम एकता, सहिष्णुता र सहअस्तित्वको परम्परा जोगाउन कुनै पनि प्रकारका उत्तेजना तथा अवाञ्छित गतिविधिमा संलग्न नहुन नागरिकलाई आग्रह गरिएको छ। आवेग र मुठभेडले समस्या समाधान गर्नुको सट्टा थप जटिलता सिर्जना गर्ने भएकाले सबै पक्षले धैर्य र संयमता अपनाउनुपर्नेमा दलहरूले जोड दिएका छन्। शान्ति र सामाजिक सद्भाव कायम राख्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ। नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका स्थानीय तहका समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय गरिएको छ।
बैठकले स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज र प्रशासनसँग समन्वय गरी शान्ति कायम राख्न पहल गर्नुपर्ने आवश्यकता औंल्याएको छ। भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूको केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। संयुक्त वक्तव्यमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने भन्दै नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न तथा सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ। दलहरूले नागरिकको जिउधनको सुरक्षा राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै नेपाल सरकारलाई अधिकतम संयमता अपनाएर परिस्थिति सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको जनाउँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि संयुक्त वक्तव्यमार्फत व्यक्त गरिएको छ।
