
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सप्तरी सदरमुकाम राजविराज बन्द गरिएको छ। घटनाको विरोधमा स्थानीय तथा युवाहरूले प्रदर्शन गर्दै आएका छन्।
यसैगरी हनुमाननगर बजारसमेत बन्द गरिएको छ भने तिरहुत गाउँपालिका–४ डिमनमा हुलाकी सडक अवरुद्ध गरी प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई उचित क्षतिपूर्ति, निःशुल्क उपचार तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। यसअघि कञ्चनरुप नगरपालिका–११ सिमरा चोकमा युवाहरूले टायर बालेर केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।
देवानगञ्जमा जारी कर्फ्युको प्रभाव छिमेकी जिल्ला सप्तरीमा समेत पर्न थालेको छ। पूर्व क्षेत्रबाट हुने ढुवानी प्रभावित भएपछि खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या देखिन थालेको व्यवसायीहरूले बताएका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न दुई बुँदे सहमति गरेको थियो। तर, सहमतिपछि पनि विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि जिल्लाको सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दै गएको छ।
आइतबार राति सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो। घटनापछि स्थानीय क्षेत्रमा तनाव बढेको छ।
