हेटौंडा, साउन १८ –  हेटौंडामा लायन्स क्लबको आयोजनामा निःशुल्क मधुमेह (डायबिटिज) तथा रक्तचाप (ब्लड प्रेसर) परीक्षण सम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरमा १६३ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। आयोजकका अनुसार परीक्षण गराउनेमध्ये ६३ जना पुरुष र १०० जना महिला रहेका थिए।शिविरमा सहभागी स्थानीय बासिन्दाले निःशुल्क रूपमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। विशेषगरी मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घरोगको समयमै पहिचान र नियमित परीक्षणको आवश्यकता रहेको भन्दै सहभागीहरूले यस्ता स्वास्थ्य शिविरलाई निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

Screenshot

कार्यक्रमकी प्रमुख अतिथि लायन ताशी डोल्मा तुम्बाहाम्फे रहनुभएको थियो। प्रमुख अतिथिले आफ्नो सम्बोधनका क्रममा लायन्स क्लबले समाजसेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै समुदायको हितमा गरिने यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउँदै लैजानुपर्ने बताउनुभयो।कार्यक्रमको सभाध्यक्षता डा. तपेश्वर यादवले गर्नुभएको थियो। सभाध्यक्ष यादवले स्वास्थ्य परीक्षण जस्ता आधारभूत सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्ने आवश्यकता औँल्याउँदै लायन्स क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गरिरहेको जानकारी दिनुभयो।कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लायन जेपी यादव तथा एरिया ट्रेजरर सीता भेटवालको उपस्थिति रहेको थियो। त्यसैगरी लायन नमुना पाण्डे, लायन मुना पाठक, लायन अरुण गुरुङ   ,लायन मनिषा घले, लायन हेमन्त ढकाल तथा लायन रूपक कालिराजको समेत सक्रिय सहभागिता रहेको थियो। उपस्थित अतिथिहरूले स्वास्थ्य सेवासँग जोडिएका सामाजिक अभियानहरूलाई सबै पक्षबाट सहयोग र सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

 

शिविर अवधिभर स्वास्थ्यकर्मीहरूले सहभागीहरूको मधुमेह र रक्तचाप परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरेका थिए। परीक्षणका क्रममा केही सहभागीमा मधुमेह तथा उच्च रक्तचापसम्बन्धी जोखिम संकेत देखिएकाले थप उपचार तथा नियमित परीक्षणका लागि स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको आयोजकले जनाएको छ। आयोजकका अनुसार समुदायमा बढ्दै गइरहेका नसर्ने रोगहरूको जोखिम न्यूनीकरण, समयमै रोग पहिचान तथा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइनेछ।

Screenshot
Screenshot

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here