हेटौँडा, – हेटौँडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकको सामुदायिक वन क्षेत्रमा बोराभित्र राखेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार दिउँसो करिब १:५० बजे स्थानीयवासी च्याउ टिप्न वन क्षेत्रमा गएको बेला सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्त लगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा डग र SOCO (घटनास्थल अनुसन्धान अधिकृत) सहितको विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बोरा खोलेर हेर्दा करिब ३०–३२ वर्षीया एक महिलाको शव फेला परेको हो। मृतकको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव हेटौँडा अस्पतालमा राखिएको छ। महिलाको पहिचान, मृत्युको कारण तथा शव उक्त स्थानमा कसरी र किन ल्याइयो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here