काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले बाढीपहिरो तथा अन्य विपद्का कारण नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण यस्ता विपद्को जोखिम दिनप्रतिदिन बढ्दै गएको बताएका छन्। उनले जलवायुजन्य विपद्को जोखिम तथा प्रभाव न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

भेटमा नेपालमा पर्यटनको सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने विषयमा समेत छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीलाई स्वागत गर्ने बताएका छन्।

सो अवसरमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here