हेटौँडा। नेपाल प्रहरी श्रीमती संघको ४२औँ वार्षिकोत्सवको अवसरमा हेटौँडामा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, मकवानपुर मोडेल अस्पताल प्रा.लि. र बागमती प्रदेश प्रहरी अस्पताल मकवानपुरको सहकार्यमा हेटौँडा उपमहानगरपालिका–४ स्थित पशुपति मन्दिर परिसरमा सोमबार बिहान उक्त कार्यक्रम सञ्चालन गरिएको हो।बिहान ६ बजेदेखि सुरु भएको कार्यक्रममा स्थानीय सर्वसाधारण तथा बागमती प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमअन्तर्गत जम्मा ६७ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। रक्तदातामध्ये ६० जना पुरुष र ७ जना महिला रहेका थिए। समाजमा रक्तदानप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रहरी कर्मचारीसँगै स्थानीय नागरिकले पनि उत्साहपूर्वक सहभागिता जनाएका थिए।यसैगरी, निःशुल्क स्वास्थ्य शिविरमार्फत स्थानीय सर्वसाधारण १२० जनालाई विशेषज्ञ स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरअन्तर्गत ६ जनाले निःशुल्क दन्त परीक्षण सेवा लिएका थिए भने ८५ जनाको मधुमेह (सुगर) परीक्षण गरिएको थियो। फार्मेसी सेवातर्फ ६१ जनाले स्वास्थ्य परीक्षण गराई आवश्यक औषधि तथा स्वास्थ्य परामर्श सेवा प्राप्त गरेका थिए।

कार्यक्रमका क्रममा पशुपति मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरूको सहजता र सेवाभावलाई मध्यनजर गर्दै निःशुल्क खानेपानी वितरण समेत गरिएको थियो।सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना र सेवाभावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम बिहान ११ बजे सम्पन्न भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here