
काठमाडौं — नेकपा एमालेभित्र पार्टी पुनर्जागरण अभियान सञ्चालन गरिरहेको समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन दबाब दिएको छ। पार्टीको साख जोगाउँदै नयाँ गति दिन निर्वाचनमा भएको पराजयको गम्भीर समीक्षा गर्न र संगठन पुनर्गठनको प्रक्रिया अघि बढाउन अभियानले माग गरेको हो।
अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाउँदै पुनर्जागरण अभियानका नेताहरू गजेन्द्र थपलिया, रोशन बस्नेत, नवीना लामा लगायतले पार्टी सुधारका विभिन्न प्रस्ताव अघि सारेका छन्।
अभियानले यसअघि गठित कार्यदलले सातै प्रदेशका १३ क्लस्टरबाट संकलित सुझावका आधारमा तयार पारेको पुनर्गठनसम्बन्धी प्रतिवेदन तत्काल सचिवालय र केन्द्रीय कमिटीमा पेस गरी सार्वजनिक गर्न माग गरेको छ।
महत्त्वपूर्ण पार्टी निकायका बैठक लामो समयदेखि बस्न नसक्दा कार्यकर्तामा निराशा बढेको उल्लेख गर्दै अभियानले अविलम्ब केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने बताएको छ।
त्यसैगरी, निर्वाचनमा भएको हारको आत्मसमीक्षा गर्दै पार्टीलाई नयाँ ढंगबाट पुनर्संरचना गर्न ठोस कार्ययोजना ल्याउन अभियानले माग गरेको छ। आन्तरिक लोकतन्त्रको पुनर्वहाली, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर विधि र कमिटी प्रणालीलाई प्रभावकारी बनाउने तथा सामूहिक निर्णय प्रक्रियालाई व्यवस्थित गर्नुपर्नेमा पनि अभियानले जोड दिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा देखिएको जटिलता तथा आम नागरिकको दैनिकी थप कष्टकर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै एमालेले आफ्नो राजनीतिक भूमिकालाई पुनःपरिभाषित गर्नुपर्ने आवश्यकता समेत अभियानले औंल्याएको छ।
