काठमाडौं — मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कपमा नेपालले पहिलो खेल बहराइनसँग खेल्ने भएको छ। एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको प्रतियोगिताको तालिकाअनुसार नेपालले समूह चरणको सुरुवात बहराइनविरुद्ध गर्नेछ।

नेपाल समूह ‘ए’ मा परेको छ। यो समूहमा नेपालसँगै हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबिया छन्। अर्को समूहमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्।

तालिकाअनुसार नेपालले भदौ १५ गते बहराइनसँग पहिलो खेल खेल्नेछ। त्यसपछि भदौ १८ गते आयोजक मलेसिया, भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल भदौ २५ गते तथा तेस्रो स्थानको खेल र फाइनल भदौ २७ गते हुनेछ।

सन् २०२७ को एसिया कपमा छनोट हुन नेपालले प्रिमियर कपको शीर्ष तीनभित्र स्थान बनाउनुपर्नेछ। प्रतियोगिता मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म सञ्चालन हुनेछ।

प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ।

नेपालको टोली:
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, इसान पाण्डे, गुल्सन कुमार झा, शेर मल्ल, ललित नारायण राजबंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here