
दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२४ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार क्याली, पेरेइरा, क्विब्डो र मानिजालेस लगायतका प्रभावित क्षेत्रमा मृतकको पहिचान गरिएको हो।कोलोम्बियाको पश्चिमी पहाडी क्षेत्र चोकोस्थित सान होसे देल पालमारमा सोमबार बिहान ७.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। दशकयताकै शक्तिशाली मानिएको उक्त भूकम्पको धक्का राजधानी बोगोटासहित पेरेइरा, क्यालीलगायत घनाबस्ती भएका सहरमा समेत महसुस गरिएको थियो।
भूकम्पपछि सरकारले राष्ट्रिय विपद्को घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएका तथा हराइरहेका मानिसको खोजीमा जुटिरहेका छन्। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।भूकम्प प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि विभिन्न देशका नेताहरूले सहयोगको प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले प्रारम्भिक आपत्कालीन उद्धारपछि आगामी दिनमा प्रभावितका लागि खाद्यान्न वितरणलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्।
भूकम्पको केन्द्रनजिकै बसोबास गर्ने एक आदिवासी नेताले भने आफूहरूको समुदायले अहिलेसम्म पर्याप्त सरकारी सहायता नपाएको गुनासो गरेका छन्। उद्धार र राहत प्रभावित सबै क्षेत्रमा समान रूपमा पुर्याउन चुनौती देखिएको बताइएको छ।
