हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।मुख्यमन्त्री बानियाँले दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका छन्। बैठकमा उनले सरकारप्रति प्रदेशसभाको विश्वास कायम रहेको पुष्टि गर्न विश्वासको मत लिने तयारी गरेका हुन्।सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन बनाएर सरकार गठनको तयारी गरिरहेका छन्। तर, हालसम्म नयाँ गठबन्धनले आवश्यक बहुमत जुटाउन सकेको छैन।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले भदौ ४ गतेभित्र विश्वासको मत लिनुपर्ने अवस्था थियो। यसअघि नेपाली कांग्रेस संसदीय दलको बैठकले भदौ ३ गतेअघि नै विश्वासको मत लिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मुख्यमन्त्री बानियाँले भदौ १ गतेको मिति तय गरेका हुन्।११० सदस्यीय बागमती प्रदेशसभामा हाल १०४ सांसदको उपस्थिति रहने अवस्थामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। अहिले मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी ३८ सांसदको समर्थन रहेको छ।यस हिसाबले सरकार जोगाउन बानियाँलाई थप १५ सांसदको समर्थन आवश्यक देखिन्छ। हाम्रो नेपाली पार्टी सरकारमा एक मन्त्रीसहित सहभागी भइसकेको छ।

प्रदेशसभामा नेकपाका २६ र एमालेका २५ सांसद छन्। दुवै दल नयाँ सत्ता गठबन्धनमा रहेका छन्। १२ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सरकार गठनमा भूमिका नलिने निर्णय गरिसकेको छ। त्यस्तै, तीन सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निरन्तर प्रतिपक्षको भूमिकामा छ।मुख्यमन्त्री बानियाँले विश्वासको मत पाउने वा नपाउने विषयले बागमती प्रदेशको आगामी सत्ता समीकरण निर्धारण गर्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here