
पाकिस्तानको ब्रड पिक हिमपहिरोमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जाको अन्त्येष्टि बेलायतमा निजी समारोहबीच गरिने भएको छ।पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले परिवार, नजिकका साथीभाइ तथा निमन्त्रणा गरिएका अतिथिमात्र सहभागी हुने गरी अन्त्येष्टि गरिने जनाएको छ। कम्पनीले नेपाली समयअनुसार बिहीबार राति जारी गरेको सूचनामा अन्त्येष्टि निजी र निमन्त्रणामा सीमित रहने स्पष्ट पारेको हो।
कम्पनीले अन्त्येष्टिको मिति भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन। यद्यपि, एलिटका नेपालस्थित कर्मचारी तथा पुर्जाका निकटस्थका अनुसार भदौ १० गते अन्त्येष्टि गर्ने तयारी छ। परिवारले भने अहिलेसम्म मिति सार्वजनिक गरेको छैन।पुर्जाकी पत्नी, छोरीलगायत आफन्त बेलायतमा बस्दै आएका छन्। एलिट एक्सपिडिसनले पुर्जाको परिवारको तर्फबाट अन्त्येष्टि तथा त्यससँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन आफूहरूले गरिरहेको जनाएको छ।कम्पनीले अन्त्येष्टिसँग सम्बन्धित कुनै पनि स्वतन्त्र कार्यक्रम, घोषणा वा पहल नगर्न र त्यस्ता कार्यक्रमबारे सूचना सार्वजनिक नगर्न समेत आग्रह गरेको छ।
गत साउन १४ गते पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८ हजार ५१ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा बिहान करिब ९ बजे हिमपहिरो गएको थियो। हिमपहिरोमा निम्सदाई पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली परेको थियो। सो घटनामा पुर्जाले ज्यान गुमाएका थिए।
