
काठमाडौं । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ता १० लाख रुपैयाँको बम्पर उपहार विजेता बनेका छन्। प्राइज पोर्टलमा पछिल्लो १६ दिनमा नगद कारोबारतर्फ ३ लाख ५७ हजार १४९ वटा बिल दर्ता भएका छन्। साउनको पहिलो १५ दिनमा भने ७ हजार ७७ वटा मात्रै बिल दर्ता भएका थिए। त्यस्तै, क्युआर कारोबारमार्फत उपहार योजनामा स्वतः सहभागी हुने कारोबारको संख्या पनि बढेको छ। यस्तो कारोबार २ करोड ५६ लाख ८ हजार ९४ बाट बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।
विभागका अनुसार पछिल्लो १७ दिनमा उपहार योजनामा कुल ३ करोड २४ लाख ४३ हजार २२९ वटा कारोबार सहभागी भएका छन्। ती कारोबारमध्येबाट आज १७ जना विजेता छनोट गरिएको हो। साउन १६ देखि ३१ गतेसम्मका १७ दिनका लागि एक–एक जना विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका छन्। २५ प्रतिशत कर कटाएपछि विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यसैगरी, बम्पर उपहार विजेताले १० लाख रुपैयाँ प्राप्त गरेका छन्। बम्पर पुरस्कारमा पनि २५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ। आज गत साउनको पहिलो पाक्षिक अवधिका विजेतालाई समेत नगद पुरस्कार प्रदान गरिएको छ।
