काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा सांसदहरूले उठाएका विभिन्न विषयमा सरकारलाई एकै दिन तीनवटा रुलिङ गरेका छन्। सांसदहरूले आफूहरूले उठाएका प्रश्न र जनसरोकारका विषयमा सरकारले बेवास्ता गरेको भन्दै सदनमा उभिएर विरोध जनाएपछि सभामुख अर्यालले प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयलाई आवश्यक जवाफ दिन निर्देशन दिएका हुन्।

सभामुखको पहिलो रुलिङ प्रतिनिधि सभा नियमावलीमा व्यवस्था भएअनुसार सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित थियो। सभामुखले नियम ५६, ५७, ५८ र ५९ बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्। सरकारले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्थासमेत कार्यान्वयन नगरेको भन्दै सांसदहरूले यसअघि पनि नियमापत्ति जनाउँदै आएका थिए।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले रुकुम पश्चिम, जाजरकोट र सल्यानका भूकम्प प्रभावितका समस्या समाधानमा सरकारले पर्याप्त चासो नदिएको भन्दै बैठकमा उभिएर विरोध जनाए। उनले साउन २२ गते सरकारलाई दिएको नौदिने अल्टिमेटम सकिँदासमेत कुनै जवाफ नआएको भन्दै आपत्ति जनाएका थिए। सरकारबाट लिखित प्रतिबद्धता वा जवाफ नआएसम्म आफू सदनमा उभिइरहने अडान सांसद शर्माले लिएपछि सभामुख अर्यालले उक्त विषयमा तीन दिनभित्र सदनलाई जवाफ दिन सरकारलाई दोस्रो रुलिङ गरे।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले कम्बोडियामा ३७ दिनअघि निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले पहल नगरेको भन्दै विरोध जनाइन्। बजेट छुट्याइए पनि परराष्ट्र मन्त्रालयले आवश्यक कार्यविधि नबनाउँदा परिवारले शव ल्याउने आशा गुमाउन थालेको उनको भनाइ थियो। सांसद तामाङको मागपछि सभामुख अर्यालले सन्तोष राईको शव नेपाल ल्याउने विषयमा समेत तीन दिनभित्र सरकारलाई सदनमा जवाफ दिन निर्देशन दिए।

सांसदहरूले लगातार उठाएका जनसरोकारका विषय र सदनमा देखिएको विरोधलाई सम्बोधन गर्दै सभामुख अर्यालले सरकारका नाममा एकै दिन तीनवटा रुलिङ गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here