काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद्लाई प्रभावकारी अनुगमन गर्न नसकेको भन्दै आलोचना गरेका छन्। सार्वजनिक लेखा समितिमा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता तथा त्यसको लेखापरीक्षणसम्बन्धी छलफलका क्रममा उनले परिषद्को कार्यप्रणालीप्रति असन्तुष्टि जनाएका हुन्।

सांसद सुनारले समाज कल्याण परिषद्मा दर्ता भएका गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले प्राप्त गर्ने रकम, सञ्चालन गर्ने कार्यक्रम र त्यसबाट लक्षित समुदायले प्राप्त गर्ने लाभको प्रभावकारी अनुगमन हुन नसकेको दाबी गरे।

दलित, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायका नाममा आउने वैदेशिक सहयोग वास्तविक लक्षित समुदायसम्म पुग्न नसकेको उनको आरोप छ। तालिम, कार्यक्रम सञ्चालन तथा प्रशासनिक खर्चका नाममा ठूलो रकम खर्च हुने गरे पनि त्यसको प्रत्यक्ष उपलब्धि र परिणाम स्पष्ट देखिन नसकेको उनले बताए।

सांसद सुनारले केही एनजीओका गतिविधिले जातीय तथा साम्प्रदायिक तनाव बढाउने अवस्था सिर्जना गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताए। जात, धर्म वा समुदायका नाममा सामाजिक विभाजन बढाउने गतिविधि वैदेशिक सहयोग वा सरकारी स्वीकृतिको आडमा सञ्चालन हुन नहुने उनको भनाइ छ।

दलित तथा गरिब समुदायका लागि छुट्याइएको बजेट कार्यान्वयनमा सरकारी निकायले अनावश्यक ढिलाइ गर्ने गरेकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। पूर्वाधार निर्माणका लागि टेन्डर प्रक्रिया छिटो अघि बढ्ने भए पनि लक्षित समुदायको जीविकोपार्जन तथा क्षमता विकासका लागि छुट्याइएको रकम खर्च गर्न ढिलाइ हुने गरेको उनले बताए।

उनले नेपालमा भित्रिने वैदेशिक सहायता, अनुदान तथा ऋणको उपयोगमा थप कडाइ गर्दै प्रभावकारी लेखापरीक्षण गर्नुपर्नेमा जोड दिए। सरकारको प्रत्यक्ष खातामा नआउने वैदेशिक सहायता रकमको समेत लेखापरीक्षणको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

सांसद सुनारले वैदेशिक ऋण तथा सहयोगबाट निर्माण भएका ठूला पूर्वाधारको उपयोगिता र आर्थिक प्रतिफलबारे समेत प्रश्न उठाए। पोखरा र भैरहवा विमानस्थललगायतका परियोजनाको सञ्चालन अवस्था तथा प्रतिफलको मूल्यांकन नगरी ऋणको भार मात्र थपिने गरी आयोजना अघि बढाउन नहुने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here