त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नदी कोरिडोर तथा आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। सडक विभागका अनुसार बाढी र पहिरोका कारण उक्त क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुल क्षतिग्रस्त भएका छन्।

बाढीका कारण विभिन्न स्थानमा गरी करिब ४० किलोमिटर सडक पूर्ण तथा आंशिक रूपमा भत्किनुका साथै कतिपय स्थानमा सडक नै बगेको छ। सडक र पुलमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको यातायात आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।

अवरुद्ध सडक तत्काल खुलाउन तथा क्षतिग्रस्त संरचनाको अस्थायी मर्मत गर्न सडक विभागले ठूला तथा हेभी मेसिनरी उपकरण परिचालन गरेको जनाएको छ। प्रभावित क्षेत्रका संवेदनशील स्थानमा प्राविधिक टोलीसहित आवश्यक उपकरण तैनाथ गरी काम अघि बढाइएको विभागको भनाइ छ।

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडक पुनः सञ्चालनमा ल्याउने कार्य चुनौतीपूर्ण बनेको छ। कतिपय स्थानमा सडकको जग नै बगेको तथा पुलहरूमा गम्भीर क्षति पुगेकाले यातायात सेवा तत्कालै पूर्ववत् अवस्थामा फर्काउन कठिन हुने देखिएको छ।

सडक विभागले जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here