Screenshot

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढीका कारण ठूलो संख्यामा पर्यटक तथा पदयात्री बेपत्ता भएका छन्।

नेपाल पर्यटन बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदनअनुसार हालसम्म ३८४ जना पर्यटक तथा पदयात्रीको अवस्था अज्ञात रहेको छ। बेपत्ता हुनेमा २९१ जना विदेशी नागरिक र ९३ जना नेपाली नागरिक रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार बुधबार बिहान करिब ८ः३० बजे भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको अवस्था बुझ्ने, खोजी गर्ने तथा उद्धारका लागि नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको छ।

पर्यटन एजेन्सीहरूले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना र सम्राट टुर एण्ड ट्राभल्समार्फत गएका ७१ जना बेपत्ता छन्। त्यस्तै, लिफ होलिडेका ५५ जना, हिमालयन ग्लेशियरका ५२ जना तथा अन्य विभिन्न एजेन्सीमार्फत गएका पर्यटक तथा पदयात्रीसमेत बेपत्ता भएको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।

बेपत्ता विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिक रहेको बोर्डले जनाएको छ। केही पर्यटकको राष्ट्रियता भने अझै खुल्न सकेको छैन।

पर्यटन बोर्डले स्थानीय प्रशासन, सुरक्षा निकाय, ट्रेकिङ गाइड तथा पर्यटन व्यवसायीहरूसँग समन्वय गर्दै प्राप्त विवरण रुजु गर्ने र बेपत्ता पर्यटकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here