
रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीमा परी सुदूरपश्चिम प्रदेशका ९० जना नागरिक सम्पर्कविहीन भएका छन्। प्रारम्भिक विवरणअनुसार कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका नागरिक बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार विभिन्न प्रहरी कार्यालयबाट प्राप्त विवरणमा अहिलेसम्म ९० जना सम्पर्कविहीन रहेको पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर बिष्टले सम्पर्कविहीन हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार कञ्चनपुरका २९, कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका ४, दार्चुलाका ३, डोटीका २, बझाङका २ र अछामका १ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीन हुनेमध्ये चार जना प्रहरी कर्मचारीसमेत रहेका छन्। उनीहरूमा प्रहरी हवलदार नरेन्द्रप्रसाद भट्ट, प्रहरी सहायक हवलदार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा रहेका छन्। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा रसुवाका विभिन्न हाइड्रोपावरमा कार्यरत मजदुर, प्रहरी, निजामती कर्मचारी तथा निजी क्षेत्रका कर्मचारीहरू रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा आफ्ना आफन्त सम्पर्कविहीन भएमा सम्बन्धित प्रहरी कार्यालयमा विवरण टिपाउन प्रहरीले आग्रह गरेको छ। अहिले आफन्तबाट सम्पर्कविहीन व्यक्तिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बाढीबाट सम्पर्कविहीन हुने नागरिकको संख्या अझै बढ्न सक्ने जनाएको छ।
