
नेपाली सेनाले रसुवाका विभिन्न स्थानबाट बिहीबार बिहानदेखि मध्यान्ह साढे १२ बजेसम्म ३३६ जनाको उद्धार गरेको छ। सेनाका अनुसार टिमुरे, धुन्चे र मैलुङ क्षेत्रबाट ६ देशका ४५ जनासहित ३३६ जनाको उद्धार गरिएको हो।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले करिब ४ हजार फौज परिचालन गरी समन्वयात्मक रूपमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।
सेनाले घाइते तथा प्रभावितको उद्धारसँगै आपत्कालीन उपचार र राहत सामग्री वितरणको कामसमेत गरिरहेको छ। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप उद्धार तथा राहत कार्य जारी रहेको सेनाले जनाएको छ।
