बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन हुनेको संख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन्। बोर्डका अनुसार १७८ जना भारतीय पर्यटक सम्पर्कविहीन छन्। त्यस्तै १२७ जना नेपाली पर्यटक, ६५ जना अमेरिकी र ५३ जना युक्रेनी पर्यटक सम्पर्कविहीन रहेको तथ्यांक छ।

यसैगरी मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक सम्पर्कविहीन छन्। सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ तथा लात्भिया र दक्षिण अफ्रिकाका ६/६ जना पर्यटकसमेत सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी तथा सम्बन्धित कम्पनीहरूबाट प्राप्त विवरणका आधारमा तथ्यांक सार्वजनिक गरेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन हुनेको संख्या थपघट हुन सक्ने जनाइएको छ।

यसैबीच, बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १७७ जनाको शव फेला परेको छ। रसुवा, धादिङ, नुवाकोट, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा शव भेटिएका हुन्।

प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै ६९ वटा शव फेला परेका छन्। त्यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ३२, धादिङमा २७, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ६ वटा शव फेला परेको छ। रसुवामा समेत शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीपछि नदी तटीय क्षेत्र तथा प्रभावित जिल्लाहरूमा बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here