
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि लायन्स क्लब इन्टरनेसनल र लायन्स क्लब मल्टिपल नेपालले गरी कुल ४ करोड ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
लायन्स क्लब इन्टरनेसनलले आपत्कालीन राहतका लागि २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ८ लाख रुपैयाँ सहयोग गरेको छ। यस्तै, लायन्स क्लब मल्टिपल नेपालअन्तर्गत रहेका १५ वटै डिस्ट्रिक्टबाट थप १ करोड रुपैयाँ संकलन गरी तत्काल राहतका लागि उपलब्ध गराइने जनाइएको छ।
लायन्स क्लबका अनुसार सदस्यहरूले वार्षिक रूपमा डिस्ट्रिक्टलाई बुझाउने ड्युज रकममध्ये प्रतिव्यक्ति ३६५ रुपैयाँ आपत्कालीन फिक्स्ड डिपोजिट (एफडी) कोषमा जम्मा हुने गरेको छ। उक्त कोषबाट प्राप्त ब्याज रकम दैवी प्रकोप तथा विपद्का समयमा राहत कार्यमा खर्च गरिँदै आएको छ।
यसै कोषबाट यसपटक पनि बाढीपीडितका लागि मल्टिपल नेपालमार्फत ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ राहतका लागि उपलब्ध गराइएको बताइएको छ।
लायन्स क्लबले विपद्को समयमा सदस्यहरूको सानो–सानो योगदानसमेत महत्वपूर्ण हुने भन्दै सहयोग गर्ने सम्पूर्ण लायन्स सदस्यप्रति आभार व्यक्त गरेको छ।
‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने मूल भावनाका साथ विपद्मा परेका नागरिकको सहयोगमा निरन्तर खटिने प्रतिबद्धता पनि क्लबले जनाएको छ।
