
तिब्बत हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण सम्पर्कविहीन हुनेको संख्या बढ्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबारसम्म बाढीमा परी सम्पर्कविहीन हुनेको संख्या ४ हजार २४७ पुगेको छ। आइतबार रातिसम्म सम्पर्कविहीनको संख्या २ हजार ५०२ रहेकोमा सोमबार एकै दिन १ हजार ७४५ जना थपिएका हुन्।
सम्पर्कविहीनको संख्या एकै दिन ठूलो संख्यामा बढ्नुको कारणबारे प्राधिकरणकी प्रवक्ता एवं उपसचिव शान्ति महतका अनुसार रसुवा र नुवाकोटबाट नयाँ विवरण ठूलो संख्यामा प्राप्त भएको हो।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार नुवाकोटबाट मात्रै सम्पर्कविहीन हुनेको संख्या १ हजार ५५८ पुगेको छ। आइतबारसम्म यो संख्या ११५ मात्रै थियो। त्यस्तै, रसुवाबाट सम्पर्कविहीन हुनेको संख्या ८६५ पुगेको छ। आइतबारसम्म रसुवाबाट ५६२ जना सम्पर्कविहीन रहेको विवरण थियो।
यसरी हेर्दा रसुवा र नुवाकोटबाट मात्रै एक दिनमा १ हजार ७४६ जना थपिएका छन्।
प्रवक्ता महतले बाढी प्रभावितहरूले विपद्का कारण ढिला गरी प्रशासनलाई जानकारी गराएका कारण पनि एकैपटक सम्पर्कविहीनको संख्या बढेको बताइन्।
कसरी संकलन हुन्छ सम्पर्कविहीनको तथ्यांक?
प्राधिकरणका अनुसार प्रत्येक जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीओसी) ले विपद्का समयमा सम्पर्कविहीन तथा बेपत्तासम्बन्धी विवरण संकलन गर्छ।
डीओसीले संकलित विवरण केन्द्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी) मा पठाउँछ। प्राप्त विवरण रुजू तथा भेरिफाइ गरेपछि प्राधिकरणले सार्वजनिक गर्ने गरेको छ।
महतका अनुसार सरकारी निकाय तथा सम्बन्धित कार्यालयबाट पत्रसहित आधिकारिक रूपमा प्राप्त विवरण मात्रै तथ्यांकमा समावेश गरिन्छ। मौखिक सूचनाका आधारमा भने विवरण सार्वजनिक नगरिने उनले स्पष्ट पारिन्।
रसुवाको माथिल्लो तटीय क्षेत्रमा रहेका सरकारी कार्यालयबाट प्राप्त बेपत्ताको छुट्टै विवरणसमेत जिल्लाको डीओसीबाट आएको तथ्यांकमा समावेश हुन सक्ने उनको भनाइ छ।
मृतक पनि सम्पर्कविहीनको सूचीमा पर्न सक्छन्
प्राधिकरणले सार्वजनिक गर्ने सम्पर्कविहीनको तथ्यांकमा पहिचान हुन बाँकी मृतकसमेत समावेश हुन सक्ने महतले बताइन्।
उनका अनुसार कुनै शव फेला परे पनि पहिचान नभएसम्म सम्बन्धित व्यक्तिलाई बेपत्ता वा सम्पर्कविहीनकै सूचीमा राखिन्छ। अहिले फेला परेका धेरै शवको पहिचान हुन बाँकी रहेकाले मृतकको संख्या पनि सम्पर्कविहीनको तथ्यांकमा मिसिएको हुन सक्ने उनले बताइन्।
तथ्यांक दोहोरिन नदिन रुजू तथा प्रमाणीकरण गर्ने काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन व्यक्तिका आफन्तलाई सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रमा निवेदन दिन आग्रह गरिएको छ।
‘सेतु एप’ मार्फत विवरण दर्ताको तयारी
आम नागरिकले समेत सम्पर्कविहीन व्यक्तिको विवरण दर्ता गर्न सक्ने गरी प्राधिकरणले ‘सेतु एप’ तयार गरिरहेको जनाएको छ। एप निर्माणको काम अन्तिम चरणमा पुगेको र यसमार्फत व्यक्तिले दर्ता गरेका विवरणसमेत हेर्न सकिने व्यवस्था गरिने महतले बताइन्।
एउटै व्यक्तिका विषयमा धेरै आफन्तले छुट्टाछुट्टै विवरण दर्ता गर्न सक्ने भएकाले मिसिङसम्बन्धी विवरणलाई थप रुजू गरी अद्यावधिक र प्रमाणित तथ्यांक सार्वजनिक गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
रसुवाको तथ्यांक अझै बढ्न सक्ने
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जिल्लामा बाढी तथा पहिरोबाट ठूलो क्षति भएकाले सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने बताएका छन्।
उनका अनुसार जिल्लामा क्षतिको यकिन विवरण संकलन गर्न कठिन भइरहेको छ। प्रशासनले अहिले विवरण संकलनको काम गरिरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए।
रसुवा प्रशासनले जिल्लाभित्र सम्पर्कविहीन भएकाहरूको विवरण संकलन गरी सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।


