
कपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। सोमबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पीडितको उद्धार तथा राहतका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ सहयोग गरिने जानकारी दिए।
ओलीले सरकारी कोषमा रकम जम्मा गर्दा पीडितसम्म राहत पुग्न ढिलाइ हुन सक्ने भन्दै तत्काल आवश्यक सामग्री र सहयोग पीडितको हातमा पुर्याउन पार्टीले प्राथमिकता दिने बताए।
‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै रहने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ। हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्याउनु हो,’ ओलीले भने।
उनले राहत तथा पुनर्स्थापनाको काम प्रभावकारी बनाउन वास्तविक पीडितसम्म छिटो र सहज रूपमा पुग्ने माध्यम पहिचान गरी एमालेले त्यहीअनुसार सहयोग परिचालन गर्ने बताए।
