
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो विपद्को वास्तविक स्वरूप पहिचान गर्न विज्ञमार्फत वैज्ञानिक अध्ययन तथा अनुसन्धान गराउनुपर्ने बताएका छन्। सर्वदलीय बैठकपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो विपद् जटिल र प्राविधिक प्रकृतिको देखिएकाले यसको कारण, प्रकृति तथा प्रभावबारे विज्ञको अध्ययन आवश्यक रहेको बताएका हुन्।
बैठकमा सहभागी नेताहरूबीच पनि विपद्को वास्तविक अवस्था पहिचान गर्न विज्ञको अध्ययन आवश्यक रहेको विषयमा छलफल भएको उनले जानकारी दिए। उनका अनुसार सरकारले विज्ञको सुझावका आधारमा घटनाको वैज्ञानिक अध्ययन गरी यथार्थ अवस्था सार्वजनिक गर्नुपर्नेछ। लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित पक्षसँग प्रत्यक्ष संवाद र समन्वय गरिरहेको बताए। प्रधानमन्त्रीले फोन तथा प्रत्यक्ष भेटमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइरहेको उनको भनाइ थियो।
उनले विपद्को समयमा सरकार र राजनीतिक दलले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भन्दै अहिलेको अवस्थालाई विगतका अभ्याससँग तुलना नगर्न आग्रह गरे। लामिछानेका अनुसार खोजी तथा उद्धार, राहत र पुनर्स्थापनाका काममा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायत विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायबीच समन्वय भइरहेको छ। प्रारम्भिक चरणमा खोजी तथा उद्धारलाई प्राथमिकता दिइएको र अहिले राहत वितरणको काम अघि बढिरहेको उनले बताए।
भौगोलिक जटिलताका कारण राहत वितरणमा केही व्यावहारिक कठिनाइ देखिन सक्ने भए पनि राहत कार्य जारी रहेको लामिछानेले बताए। अब पुनर्स्थापना तथा पुनर्निर्माणको दीर्घकालीन कामका लागि सम्बन्धित मन्त्रालय, विभाग तथा निकायहरूले योजना निर्माण र कार्यान्वयनमा काम गर्नुपर्ने उनको भनाइ छ।
रास्वपाभित्रैबाट सरकारको कामबारे हुने आलोचनाका विषयमा लामिछानेले पार्टीभित्रको आन्तरिक लोकतन्त्रका कारण नेताहरूले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्न पाउने बताए। आफ्नै सरकारको आलोचना गर्नु पनि लोकतान्त्रिक अभ्यासकै हिस्सा भएको उनको भनाइ थियो।
सर्वदलीय बैठकमा विपद् व्यवस्थापन, सरकारका निकायबीचको समन्वय, राहत तथा पुनर्स्थापना र जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको थियो। बैठकमा सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने तथा संसद्भित्र विशेष समिति गठनका लागि पहल गर्ने विषयमा समेत छलफल भएको लामिछानेले जानकारी दिए।
