
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवलाई सफल कार्यकालका लागि बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।
मन्त्री खनालले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ, गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। भेटका क्रममा दुई देशबीच ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटीका क्षेत्रमा भएका प्रगति र जनस्तरको सम्बन्धबारे समेत छलफल भएको थियो।
यस्तै, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि भारतले नेपालप्रति देखाएको ऐक्यबद्धता तथा खोज, उद्धार र राहतका लागि गरेको शीघ्र सहयोगप्रति मन्त्री खनालले आभार व्यक्त गरे। मन्त्री खनालले राजदूत श्रीवास्तव आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहने विश्वास व्यक्त गर्दै उनको आगामी कार्यकाल तथा भावी प्रयासका लागि शुभकामना दिए।
भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नेपाल–भारत सम्बन्ध अझ प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरे।
