
मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ।
उक्त प्रणालीले सुरुमा गहिरो न्यूनचापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने र त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश भूभागमा बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा पाल्पाको बल्ढेङगढीमा सबैभन्दा बढी १६२.८ मिलिमिटर वर्षा मापन भएको छ। अर्घाखाँचीको सिमलपानी आसपास १३८ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा १२९ मिलिमिटर, तनहुँको खैरेनीटार आसपास ८५ मिलिमिटर, दाङको कोइलाबास क्षेत्रमा ८४ मिलिमिटर र रुपन्देहीको सैनामैना क्षेत्रमा ८३ मिलिमिटर वर्षा भएको छ।
