
डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पांग्रा खुस्किएको छ।
नेपालगञ्जबाट १३ जना यात्रु लिएर उडेको जहाज बिहीबार बिहान करिब ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पांग्रा खुस्किएर बाहिर निस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।
डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिलराज गिरीका अनुसार जहाजमा सात जना विदेशी र छ जना नेपाली यात्रु सवार थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका थिए।
घटनामा जहाजमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजको पांग्रामा सामान्य समस्या देखिएको र घटनाबाट कुनै मानवीय क्षति नभएको जानकारी दिइन्।
