
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको अनुसन्धान तथा विश्लेषणका क्रममा धरान उपमहानगरपालिका–१३ का ज्योति शाही अवैध हुन्डी कारोबारमा संलग्न रहेको खुलेको हो।
प्रहरीका अनुसार शाहीले सुनसरीको इटहरीमा ‘शाही मनी ट्रान्सफर’ नामक संस्था दर्ता गरी त्यसको आडमा अनौपचारिक माध्यमबाट आर्थिक कारोबार गर्दै आएका थिए।
अनुसन्धानका क्रममा उनले कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत पाँच वटा बैंक तथा वित्तीय संस्थामा विभिन्न खाता खोली १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८ सय ४५ रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शाहीले स्वदेश तथा विदेशबाट प्राप्त रकम असम्बन्धित व्यक्तिका बैंक खातामार्फत तथा ‘कनेक्ट आईपीएस’ लगायतका डिजिटल माध्यम प्रयोग गरी हुन्डी कारोबार सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले असोज ६ गते साँझ ४ः४५ बजे धरान–५, खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो।
