
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन् ।
न्यूयोर्कमा आयोजित महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण जोखिममा परेका मुलुकले भोग्नुपरेका समस्या, नेपालमा पछिल्लो समय भएका प्राकृतिक विपद् तथा जलवायु न्यायका लागि अन्तर्राष्ट्रियस्तरमा थप पहल गर्नुपर्ने विषय उठाएका थिए ।
शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका शाहले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न तथा प्रभावित राष्ट्रलाई न्यायोचित सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।
न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग भेटवार्ता गरेका थिए । महासभाको अवसरमा उनले विभिन्न देशका नेता तथा उच्च अधिकारीहरूसँग पनि भेटघाट गरेका थिए ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार र परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डीसीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज अरन तथा न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूत दधिराम भण्डारीलगायतले प्रधानमन्त्री शाहलाई विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रधानमन्त्री शाह स्वदेश फर्किए पनि परराष्ट्रमन्त्री खनालसहित नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरूले भने महासभाका विभिन्न बैठक तथा कार्यक्रममा सहभागिता जारी राख्नेछन् ।
