
हेटौँडा । दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा हेटौँडा इन्डोर लिग–२०२६ शुक्रबारदेखि हेटौँडामा सुरु हुने भएको छ। प्रतियोगिताको तयारी पूरा भएसँगै खेलाडी तथा क्रिकेटप्रेमीमा उत्साह बढेको छ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा र हेटौँडालगायत विभिन्न जिल्लाका १२ टोली सहभागी हुँदैछन्। टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ भने प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको पहिलो दिन असोज २३ गते शुक्रबार सात खेल हुनेछन्। बिहान ८ बजे हुने उद्घाटन खेलमा आयोजक माया स्पोर्ट्स सेन्टर र भायानेट कम्युनिकेसन भिड्नेछन्। पहिलो दिन थन्डर स्ट्राइकर, क्याम्पा XI, रोयल गोर्खा क्रिकेट, इ–प्लानेट, वीरगञ्ज बासर्स, हेटौँडा स्पोर्ट्स एकेडेमी, तराई लायन्स र चमनपुर सुपर किङ्सलगायत टोलीबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, असोज २४ गते शनिबार समूह चरणका खेलसँगै क्वार्टरफाइनलका चार खेल सञ्चालन हुनेछन्। प्रतियोगिताका सबै खेल माया स्पोर्ट्स सेन्टर, हेटौँडामा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। माया स्पोर्ट्स सेन्टरका सञ्चालक विप्लव पौडेलले विभिन्न जिल्लाका खेलाडीलाई एउटै मञ्चमा सहभागी गराई अनुभव आदानप्रदान तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।
दशैँको अवसरमा आयोजना हुन लागेको प्रतियोगिताले हेटौँडामा क्रिकेटको माहोल थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ। प्रतियोगिताका सम्पूर्ण खेल नेशनल गोल्ड एचडी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ।
