
हेटौंडा । ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशङ्कामा मकवानपुर प्रहरीले हेटौंडाबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा रहेका नागरिकता प्रमाणपत्रका ५२ थान प्रतिलिपि, ४३ थान सिमकार्ड र चार थान चेकबुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असोज २२ गते दिउँसो करिब ४ बजे हेटौंडा उपमहानगरपालिका–५, सानोपोखरास्थित रामबहादुर पोखरेलको घरमा डेरामा बस्दै आएका व्यक्तिहरूले आपराधिक गतिविधि गरिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोलीले कानुनबमोजिम खानतलासी गरेको थियो।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–८ का १९ वर्षीय अजय कुमार यादव र पवन कुमार दास तथा बौधिमाई नगरपालिका–६ का २१ वर्षीय रोशन राय यादव रहेका छन्।
प्रहरीले खानतलासीका क्रममा एनसेलका प्रयोग भइसकेका २२ थान र सिलप्याक अवस्थामा रहेका २१ थान सिमकार्डसहित अन्य व्यक्तिका नाममा रहेका चार थान चेकबुक पनि बरामद गरेको जनाएको छ।
बरामद सामग्री के प्रयोजनका लागि प्रयोग गर्न राखिएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सिमकार्डको प्रयोग तथा प्राप्तिको स्रोत खुलाउन नसकेको प्रहरीले उल्लेख गरेको छ।
तीनै जनाविरुद्ध ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
