काठमाडौं । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा समेत देखिन थालेको छ। यसको प्रभावले देशका विभिन्न प्रदेशमा बदलीसँगै वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भएको उनले जानकारी दिइन्।

चक्रवात भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरी क्रमशः उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ। आगामी दिनमा कमजोर हुँदै उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान गरिएको छ।

मौसमविद् महर्जनका अनुसार शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने मौसमविद् महर्जनले बताइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुने सम्भावना पनि रहेको छ।

सम्भावित वर्षाका कारण कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर मात्र काम गर्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित रहन सुझाव दिइएको छ।

वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पूर्वतयारी अपनाउन आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here